Sep 19 2024 | २०८१, असोज ३ गते

ब्रेक सु र रेजरमा लुकाएर ल्याएकाे सय किलो सुन तस्करी (हालसम्मको अपडेट)

ब्रेक सु र रेजरमा लुकाएर ल्याएकाे सय किलो सुन तस्करी (हालसम्मको अपडेट)

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ५ २०८०
  • ब्रेक सु र रेजरमा लुकाएर ल्याएकाे सय किलो सुन तस्करी (हालसम्मको अपडेट)

    हालसम्म १० जना पक्राउ

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ ३ जना पक्राउ परेसँगै पक्राउ पर्नेहरुको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ परेका छन् ।

    अर्का एकजना पनि काठमाडौँबाट पक्राउ गरिएको छ । राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन गरिरहेको छ । सो ‘विशेष अपरेशन’को कमाण्ड राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरेका छन् । सशस्त्र प्रहरीका डिएसपी प्रदिप राईसहितको सशस्त्रको टिम अपरेशनमा खटिएको छ ।

    दुई जना कर्मचारी निलम्बन

    यसैंगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि निलम्बनमा परेका छन् ।

    भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।
    त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

    असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । ‘रेडी ट्रेड’सँग ‘ट्रान्स ग्लोबल सर्भिस’को कनेक्सन देखिएपछि सञ्चालकलाई पक्राउ गरिएको हो ।

    बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।

    बा. २ च २३२४ नम्बरको ट्याक्सि चालक अशोक रानामगर पनि राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् ।
    चिनियाँ, नेपाली र भारतीय सम्मिलित टोलीले ल्याएको १ सय किलो भन्दा सुन राजस्व अनुसन्धान विभागले बरामद गरेसँगै पक्राउ परेकाहरुलाई छानविन गर्न १० दिनको म्याद थप गरिएको छ ।

    सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको हो।

    सुन तस्करी काण्डमा संलग्न एक जना चिनियाँ नागरिकलाई बिहीबार त्रिभुवन बिमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान र बेलुका विभागले पक्राउ गरेको थियो।

    पक्राउ पर्नेहरु काे काे ?

    पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन्। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। पक्राउ पर्नेहरुमा रेडी ट्रेड प्रालिका दोलखा निवासी सञ्चालक २१ वर्षीय दिलीप भुजेल र उनका मामा ५३ वर्षीय रामकुमार भुजेल रहेका छन्।  यसैंगरी सुन ल्याउन सहयोग गर्ने भोजपुरका ४९ वर्षीय हर्कराज राई, ५३ वर्षीय भारतीय नागरिक थुक्पिन छिरिङ रसुन रहेका छन् ।  चितवन घर भएका ट्याक्सी ड्राइभर अशोक रानामगर र भन्सार एजेन्ट राजेन्द्रकुमार राई रहेका छन् । विहीवार पक्राउ पर्नेहरुमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र कोटेश्वरबाट राजन श्रेष्ठ छन् । 

    सुन लुकाएको सामान नेपाल ल्याउन दिलीप भुजेल संलग्न देखिएका छन् भने यसको मुख्य नाइके चिनिया नागरिक देखिएका छन्।

    छानविन समिति गठन

    बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई राजस्व अनुसन्धान विभागको टोलीले धेरैबेरको निगरानी पछि रोकेर सुन बरामद गरेको थियो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति पनि बनाइ सकेको छ ।

    विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा नेतृत्वमा ७ सदस्यीय छानबिन समित गठन गरिएको हो ।  समितिले ५ दिनदेखि बढीमा ७ दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।

    समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ ।
    विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

    भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई भन्सार विभागले बिहीवार बिहानै निलम्बनको जानकारी दिइसकेको छ ।

    सुन बरामद कसरी भयाे त ?

    हङकङको क्याथे फ्यासिफिकका एयर हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको थियो ।

    मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको जहाजबाट उक्त सुन काठमाडौं ल्याइएको थियो ।

    सुन तस्करी भइरहेको कच्चा सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार गोप्य तवरले सिभिल ड्रेसमा खटेर भन्सारमा निगरानी बढाएको थियो । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर अत्यन्तै गोप्य अप्रेसन गर्दै कडा निगरानीमा रहेको टोलीले ट्याक्सी जम्मा गरेर निस्किँदै गर्दा सुन बरामद गर्न सफल भएको हो ।

    राजश्व अनुसन्धान विभागले ३ महिनाअगाडि मात्र सञ्चालनमा आएको रेडी ट्रेडर्सले सुन तस्करी गरिरहेको सूचना पाएको थियो ।  बरामद भएको सुन कति हो भन्ने यकिन अहिलेसम्म हुन सकेको छैन । मोटरसाइकल र स्कुटरको ब्रेक सु बनाएर ल्याएको हुनाले सुन नै कति भनेर यकिन हुन नसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सुनको यकिन परिमाण पत्ता लगाउन १ हप्ता लाग्ने जनाएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित टक्सार विभागमा पठाएको थियो । राजस्व राष्ट्रबैंकले जोखेको ती ब्रेकसुको कूल तौल १५५ किलो आएको छ । त्यसमा अन्दाजी १ सय किलो सुन हुनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    जम्मा १६० वटा ब्रेकसुमध्ये एउटाबाहेक सबैमा सुन भेटिएको बताइएको छ । ती ब्रेक सुबाट सुन निकालेर सुनको मात्रै तौल जोखिन १ हप्ता लाग्ने बताइएको छ ।

    विहिवार नै रेडी ट्रेडर्सको नाममा अर्को लतको सामान आएपछि अनुसन्धान विभागको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को सामानमा पनि सुन नै हुनुपर्ने आशंकामा गएको थियो । तर छानविनको क्रममा सो सामानमा भने सुन फेला परेको थिएन । 
    सरकारले यसअघि ८८ किलो र ३३ किलोबाहेक ठूलो परिमाणको सुन पक्राउ गर्न सकेको थिएन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा बुधबार मध्याह्न ‘रेडी ट्रेड’को ८ बाक्सा सामान भन्सार जाँच हुँदै बाहिरिने तर्खरमा थियो । 
    जहाजको कार्गोमार्फत स्कुटर र बाइकको ब्रेकमा प्रयोग हुने ‘ब्रेक शु’ र दाह्री काट्ने रेजर भन्दै भन्सार पार गराइएको थियो । विमानस्थलको भन्सार र सुरक्षा जाँच सेटिङ्गमा भएकाले सहजै पार भइसकेको थियो। सामान लिन जाने दिलिप भुजेल सोहीअनुसार भन्सार शुल्क बुझाएर निस्केका थिए ।

    ती व्यक्ति विमानस्थलबाहिर रहेको ट्याक्सी समातेर सिनामंगल हुँदै जान लागेका थिए। सिनामंगल पुगेपछि उनी चढेको ट्याक्सीलाई राजश्व अनुसन्धान विभागका कर्मचारीले रोके  र, ट्याक्सीमा रहेका ८ बाक्सा सामान नियन्त्रणमा लिए। ट्याक्सीमा रहेका मानिस र चालकलाई पनि नियन्त्रणमा लिइयो।

    बुधबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गोमार्फत सुन आउँदै गरेको सुराकी राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले १० दिन अगाडि नै पाइसकेका थिए।

    बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका थिए । उनीहरुको बयानको आधारमा थप व्यक्तिहरु पक्राउ परेका हुन् ।  सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको बताइएको छ ।

    भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो । त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको थियो ।

    किन नेपाल सुन तस्करीकाे ट्रान्जिट बनिरहेकाे छ ?

    यूएई, हङकङ वा सिंगापुरबाट नेपाल हुँदै भारतमा सुन पुर्‍याउन सकिएमा धेरै नाफा हुने भएकाले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनिरहेको छ ।

    अरू देशबाट सुन किनेर भारतमा लैजाँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्छ। १५ प्रतिशत आयात शुल्क र ३ प्रतिशत आईजीएसटी सहित १८ प्रतिशत शुल्क तिर्नुपर्दा महँगो हुने भएकाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने गरिएको हो । 
    भारतमा धेरैजसो यूएई, हङकङ र सिंगापुरबाट सुन तस्करी गरेर लगिन्छ। भारतमा वर्षेनि ७२० टन सुनको माग रहेको छ ।  जसमध्ये ३८० टन कानुनी रुपमा बाँकी ३ सय ४० टन सुन तस्करी हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार