सुन काण्डमा राजनीतिक संरक्षण ! थप ४ चिनियाँ पक्राउ गर्ने तयारी
सुन काण्डमा राजनीतिक संरक्षण ! थप ४ चिनियाँ पक्राउ गर्ने तयारी
बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मुलका दावा छिरिङ्ग पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनैतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भइ विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा विक्रि वितरण गरेको र त्यसमा राजनैतिक संरक्षण रहेको पाउन थालेको हो ।
राजनैतिक संरक्षण प्राप्त भएको पुष्टि हुन थालेपछि सांसदहरु संसद बन्द गर्दै आरोप प्रत्यारोपमा उत्रेका छन् । माओवादी केन्द्रका नेताहरु एमालेमाथि आरोप लगाउने र एमाले नेताहरु सत्ताधारी दलहरुमाथि आरोप लगाउने क्रम वढेको छ ।
एमालेले सुनकाण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको संलग्नता रहेको बताइरहँदा माओवादीहरु भने झापाको गिरिबन्धु टि स्टेटको जग्गा काण्डका मतियारहरुको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।
एमालेले उच्च स्तरीय राजनैतिक छानविन समिति बनाउनुपर्ने माग गरिरहँदा माओवादीहरु अहिले आवश्यक नभएको भन्दै आफ्ना नेता बचाउन खोजिरहेका छन् भने एमालेहरु समिति बनाएर आफ्ना नेताहरुको संरक्षण गर्न संसद बन्द गरी समितिको माग गरिरहेको आशंका सार्वजनिक वृत्तमा गर्न थालिएको छ ।
राजस्व अनुसन्धान विभागले भने सुन प्रकरणमा पक्राउ परेका १८ जनालाई सोधपुछ गर्दै नयाँ नयाँ फन्दा पत्ता लगाइरहेका छन् ।
अनुसन्धान टोलीले हालसम्म राजनैतिक व्यक्तिहरुको संलग्नता पत्ता नलागेको र संरक्षण भए नभएको विषयमा खोजीनीति जारी नै रहेको बताएको छ । विभागले तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ्गको संलग्नता अधिकतम रहेकोसम्म पत्ता लगाएको छ ।
उनको ठमेलको होटलमा छापा मार्दा बरामद भएका विभिन्न कागजपत्र, कारोबारका कागजात आदिको विश्लेषणका आधारमा दावा नै प्रमुख व्यक्ति हो कि भन्ने क्ल्यु मिलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
उनको नै प्रमुख लगानी हो कि होइन भन्ने अनुसन्धान जारी नै रहेको र हालसम्मको अनुसन्धानले १८ जनामध्ये सवैभन्दा पहिलो लेयरमा उनी रहेको उनको भनाइ छ ।
उनीसँग सम्पर्कमा रहेका र उनलाई सम्पर्क गरेका व्यक्तिहरु अनुसन्धानको दायरामा तान्नका लागि कागजी प्रक्रिया मिलाउन थालिएको पनि उनले जानकारी दिए । अनुसन्धानकै सिलसिलामा विभागले बरामद गरेका मोबाइलको ’डेटा रिकभरी’का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको र मोबाइलको कल डिटेल्स पनि विभागले प्राप्त गरिसकेको बताइएको छ ।
फोन रिकभरी गर्दा अन्य थप ४ जना चिनियाँ नागरिक पनि संलग्नता रहेको पाएको बताइएको छ । ती ४ जनालाई विहिवारसम्ममा पक्राउ गर्ने तयारी विभागको रहेको छ ।
विभागले अहिलेसम्मकम चिनियाँ नागरिक चुवाङ लिनलाई पक्राउ गरेर विभिन्न ठाउँमा छापा मारिसकेको छ ।
धुम्बाराहीस्थित पिपलबोटमा २ वटा, मण्डिखाटार, लाजिम्पाट र धापासीमा एक-एकवटा गरी कुल ५ वटा घरमा छापा मारिसकेको छ । त्यसबाहेक सोह्रखुट्टे र टोखास्थित गोदाममा पनि विभागले छापा हानेको थियो ।
रेडी ट्रेडको सञ्चालक २१ वर्षे दिलिपकुमार भुजेल, उनका मामा रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामासँग शुरूमा बयान लिंदा नै ती व्यक्तिहरु भरिया मात्र भएको आधार विभागले पाएको थियो ।
तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक चुवाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्ट पक्राउ परेपछि भने नयाँ नयाँ फन्दाहरु पत्ता लाग्दै आएको थियो ।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, जाँचकी कुमार ढकाल र भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम तथा रुक्मिणी सुब्बा पक्राउबाट भने थप व्यक्तिहरु पक्राउ गर्न ठोस प्रमाण बटुल्न सकेको छैन ।
चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने सन्तोष तामाङ र दावा छिरिङ पक्राउ परे पछि भने सुन काण्डको जालो विशाल रहेको पाइएको थियो ।
यसैंगरी रेडी ट्रेड प्रालिका नाममा आयात गरिएकाजस्तै ब्रेक शु, सेभर तथा घडीहरू दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिको नाममा पनि आयात हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
सुन तस्करीमा संलग्न रहेका भनिएका राजेश अदुकियालाई भने विभागको टोलीले समयमा नै पक्राउ गर्न नसकेको भन्दै आलोचना हँुदै आइरहेको छ । यो प्रकरणमा शुरूमा नै मुछिएको हुन सक्ने आधार हुँदाहँुदै पनि विभागको टोलीले घटना घटेको एक सातापछि मात्रै अकुदियाको घरमा छापा मारेको थियो । त्यतिबेलासम्म अदुकिया बेपत्ता भइसकेको पाइएको छ । अकुदियालाई सरकारी पक्षले नै भगाएको हुन सक्ने आरोप लागेको छ ।
यसैंबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै सुन तस्करीमा मुछिएको आरोप लगाएका छन्। २६ औँ स्मृति दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आफै मुछिएकाले समिति बनाउन नमानेको बताए।
मजदुरी गर्न विदेश गएका श्रमिकले १० वर्षपछि आमालाई ल्याइदिएको सिक्री एयरपोर्टबाटै खोसेर लाने सरकारले दिनको क्विन्टल सुन तस्करी गराइरहेको उनको भनाइ थियो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने अस्वस्थ भएर अहिले सार्वजनिक रूपमा देखिन छाडेका छन् । तर, यति ठूलो तस्करीको अनुसन्धान प्रहरीलाई गर्न नदिई प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागलाई नै सबै जिम्मा दिइएकोमा गृह प्रशासनमाथि नै प्रश्न उठाउन थालिएको छ ।
अनुसन्धानमा प्रहरीलाई जिम्मा लगाउँदा माओवादी नेताहरूको कनेक्सन बाहिर आउने आशंकाले गर्दा प्रधानमन्त्रीकै चाहनामा प्रहरीलाई बाहिरी घेरामा राखिएको आरोप पनि लाग्ने गरिएको छ ।
सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएपछि क्वीन्टल सुनको अनुसन्धानमा प्रहरीलाई बाइपास गरिएको आशंका छ ।