साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताए।
लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरूद्ध मुद्दा दायर भएको छ।
त्यस्तै तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेख घर भई काठमाडौंको टोखा-३ बाँसबारी बस्ने गीताकुमारी शाही र बाँके कोहलपुर-११ का सुरोज गिरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता दाहालले बताए।
साझा भण्डारको नाममा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ को ०-२-० क्षेत्रफल भएको र बाँके कोहलपुर तत्कालीन गाविस वडा नम्बर ३ को ०-२-१७ क्षेत्रफलको जग्गा उनीहरूले बिक्री गरेको आरोप छ।
अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
अनुसन्धान हुँदा उनीहरूले बिना आधार र हचुवाको भरमा जग्गाको मूल्य कम राखेर बिक्री गरेको प्रवक्ता दाहालले बताए।
तत्कालीन अध्यक्ष खड्का, सदस्य राजवंशी, मानन्धर, थापा, न्यौपाने र थापाविरूद्ध दुबै जग्गाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
उनीहरूले संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ घाटा पुर्याएको भन्दै उक्त बिगो कायम गरी अख्तियारले कैद र जरिवानाको मागदाबी गरेको छ।
त्यस्तै सदस्य योगेन्द्रनाथ कर्माचार्यले कोहलपुरको जग्गा बिक्री गर्दा संस्थालाई चार करोड ९४ हजार १८१ रुपैयाँ नोक्सानी पुर्याएको आरोप छ।
उनीसँग अख्तियारले कोहलपुरको जग्गाको बिगो असुल गरी कैद र जरिवाना मागदाबी गरेको छ।
गीताकुमारी शाही वीरेन्द्रनगरको जग्गा खरिद गर्ने व्यक्ति हुन्।
उनले बोलपत्र प्रतिस्पर्धालाई सीमित पार्न आफन्त, नातागोता, बेसरोकारवालाको नागरिकता प्रतिलिपि प्रयोग गरी मन्जुरी बिना नै बोलपत्रमा सहभागी गराएको प्रवक्ता दाहालले बताए।
त्यसरी नाममात्रको प्रतिस्पर्धा र सहभागिता देखाएर मिलेमतोमा न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई ३ लाख ३० हजार रुपैयाँको नोक्सानी पुर्याएको अख्तियारले जनाएको छ।
त्यसैगरी कोहलपुर-११ बस्ने सुरोज गिरीले पनि कोहलपुरको जग्गा किन्नका लागि प्रतिस्पर्धालाई सिमित पारेको अख्तियारको ठहर छ।
उनले पनि बेसरोकारवाला व्यक्तिहरूको नागरिकताको प्रतिलिपि दुरूपयोग गरी संस्थाबाट जग्गा खरिद गरी ४ करोड ९४ हजार १८१ रुपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारले जनाएको छ।
यसरी उनीहरूले मिलेमतो गरी संस्थालाई हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।