Aug 12 2026 | २०८३, साउन २७ गते

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताए । 

    images

    उनले सो सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । 

    संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ छ । “संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ”, प्रधानमन्त्री दाहालले भने । 

    प्रधानमन्त्री दाहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए । प्रधानमन्त्री दाहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने सङ्कल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे । 

    प्रधानमन्त्री दाहालले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताए । उनले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वाससमेत दिलाए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट