Sep 17 2024 | २०८१, असोज १ गते

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज शुक्रबार उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।”

    images
    images

    त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, “यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।”

    सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए।

    “सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ । जन्मेको ठाउँ । नजिक रहने हाम्रो स्वभाव पनि हो”, उनले भने । मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुनसक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे ।

    सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए । यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी थिए । 

    सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुवा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट विसं २०१६ असोज २० गते जन्मिएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    विसं २०४१ मा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा कार्य गरेका उनले २०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रुपमा काम गरेका थिए। विसं २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चारदशकसम्म न्याय सेवामा रहेका उनी २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार