वामदेव गाैतम संघीयता खारेजीको पक्षमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने निष्कर्ष
वामदेव गाैतम संघीयता खारेजीको पक्षमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने निष्कर्ष
एमालेबाट फुटेर नयाँ पार्टी खाेलेका वामदेव गाैतम संघीयता खारेजीको पक्षमा उभिएका छन ।
एमालेबाट अलग भएर नेकपा एकता राष्ट्रिय अभियान पार्टी दर्ता गरेका पूर्वउपप्रधानमन्त्री गौतम संघीयताको खारेजीको पक्षमा देखिएका छन् । केन्द्रीय कमिटीको बैठकले संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।
महासचिव डिबी कार्कीले प्रदेश संरचना हटाएर स्थानीय तहलाई शक्तिशाली बनाउनुपर्ने उनले बताए । ‘सरकार स्थिर नहुने, विकास निर्माणका काम नहुने, कुनै पनि योजना समयमा सम्पन्न नहुने, देशभित्र रोजगारी पनि नपाइने विद्यमान अवस्थाबाट देशले निकास पाउँदैन,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो । अब रुपान्तरित व्यवस्थामा जानुपर्छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुको विकल्प छैन ।’ गौतम राष्ट्रिय सभा सदस्य छन् ।
देशभर एउटा निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट २०५ जनाको संघीय संसद् बनाउने, निर्वाचित सांसद मन्त्री बन्न नपाउने, विज्ञबाट मन्त्री बनाउने पक्षमा पार्टी उभिएको कार्कीले बताए । प्रत्येक निकायमा योग्यता र क्षमताका आधारमा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने पक्षमा पार्टी रहेको उनको भनाइ छ ।
तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकाल्दै एकता अभियानले देशव्यापी रूपमा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । ‘तत्कालका लागि उपाध्यक्षहरूले प्रदेश हेर्ने, तत्कालीन अञ्चललाई क्षेत्र मानेर पूर्णकालीन कार्यकर्ता खटाउने निर्णय भएको छ । जनतामा आधारित भएर उत्पादनमा भाग लिने नीति लिएका छौँ,’ कार्कीले भने ।
यसअघि गौतमले पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरेका थिए । तत्काल एकता सम्भव नभएको निष्कर्ष निकालेर संगठन सुदृढीकरणमा लाग्ने निर्णय भएको कार्कीले जानकारी दिए । एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने पक्षमा गौतमले वकालत गर्दै आएका छन् ।