उपत्यकामा प्रदूषणले वार्षिक पाँच हजारको मृत्यु
उपत्यकामा प्रदूषणले वार्षिक पाँच हजारको मृत्यु
काठमाडौँ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको प्रदूषणको अवस्थाबारे वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ ।
सन् २०२० देखि २०२२ सम्म विभाग र वायु प्रदूषणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गरेका अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै २७ प्रतिशत ७० वर्षमाथिका नागरिक र १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । मृत्यु गराउनेमध्ये पाँच रोगका मुख्य कारण वायु प्रदूषणसँग सम्बन्धित रहेको विभागले जनाएको छ । ४२ हजार नेपालीको मृत्युको कारण बन्ने रोगहरूमा सीओपीडी श्वासप्रश्वाससँग सम्बन्धितको ६६ प्रतिशत कारक वायु प्रदूषण रहेको छ ।
यस्तै, मुटुरोगको ३४, मस्तिष्काघातको ३७, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणको कारक वायु प्रदूषण रहेको उल्लेख छ । नवजात शिशुको मृत्युको कारणमध्ये २२ प्रतिशत वायु प्रदूषण नै रहेको प्रतिवेदनमा जनाइएको छ ।
काठमाडौंमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा मात्र वार्षिक पाँच हजार ८० जनाको मृत्यु वायु प्रदूषणजन्य समस्याका कारण हुने गरेको तथ्यांक छ ।
विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ ९पर्टिकुलेट म्याटर० औसतमा दैनिक पाँच माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । तर, नेपालको वार्षिक औसत ५१.७ हुने गरेको छ ।
पीएम २.५ ले २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदूषणविज्ञ भूषण तुलाधार बताउँछन् ।
काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भए औसत आयु ४।६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्र सुधारिए पनि १।२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।