छोङछिङमा प्रधानमन्त्री भेटवार्ता
छोङछिङमा प्रधानमन्त्री भेटवार्ता
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे ।
प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुगेका छन् । आज छोङछिङ महानगरपालिकामा उनले सो भेटवार्ता गरेका हुन् ।
वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा उहाँलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।
आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरे ।
सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिए । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् । उनी आज छोङछिङमा नै रहने कार्यक्रम छ ।