दोलखाबाट थप चार किलो सुन बरामद
दोलखाबाट थप चार किलो सुन बरामद
दोलखा । दोलखाको लामाबगरबाट प्रहरीले आइतबार थप चार किलो सुन बरामद गरेको छ । दोलखाको विगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो ।
लामाबगरको बस्ती भन्दा पारी डुंगाको ओडारमा लुकाई राखेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।
यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ ।
प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरमा कोठा भाडा लिई बस्ने विगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङको कोठाबाट १० गते चार किलो र १२ गते पुनः तीन किलो सुन बरामद गरेको थियो ।
हालसम्म घटनमा संलग्न स्थानीय सात जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीको नाइके भने अझै पक्राउ परेका छैनन् । प्रहरीले अहिले पनि लामाबगरमा नै रहेर सर्च गरिरहेको डिएसपी खड्काले बताए ।