Sep 08 2024 | २०८१, भदौ २३ गते

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
  • परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

    वाशिङ्टन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।

    images
    images

    उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरेका थिए ।

    प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेका थिए ।

    युएसएआइडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआइडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

    भेटका अवसरमा उनीहरुले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरेका थिए ।

    सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र युएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो ।

    उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ ।

    यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो । नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्याउँदै आएको चर्चा मन्त्री साउदले गरेका थिए।

    मङ्गलबारको सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए।

    नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट