Sep 20 2024 | २०८१, असोज ४ गते

सांसद कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन् :   सांसद राणा

सांसद कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन् :   सांसद राणा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
  • सांसद कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन् :   सांसद राणा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा धवलशम्शेर राणाले संसदमा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गरेका छन् । “संसदमा प्रतिपक्षको भूमिका सरकारका काम–कारबाहीका बारेमा निगरानी राख्दै सरकारका राम्रा काममा टेवा दिने र कमी–कमजोरीमा खबरदारी गर्नु हो ।

    images
    images

    हामी संसदमा जनताको विचारको प्रतिनिधित्व गर्दै आवाज उठाइरहेका छौँ । सरकारले कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइरहेका छौँ । तर सरकारले कार्यान्वयन गर्दैन । सरकार जवाफदेही छैन । हामी प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेका छौँ तर आफ्नो भूमिका निभाउन सरकार सकिरहेको छैन”, उनले भने ।

    सांसद राणाले जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने सर्वोच्च निकायका रूपमा रहेको संसदमा सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने बानीको विकास गरी जनताका समस्या समाधान र कानुन निर्माण केन्द्रित हुनुपर्ने बताए । राप्रपाका महामन्त्रीसमेत रहेका राणाले प्रतिपक्षले उठाएका विषयप्रति सरकार जवाफदेही नहुँदा सरकार असफल भएको आरोप समेत लगाए । “हामी सरकारका खराब कामप्रति विरोध गरिरहने, औँल्याइरहने, सत्तापक्ष नसुनेको जस्तो गरिरहने  यस्ता अभ्यासले हामीलाई कहाँ पु-याउँछ ?”, उनले प्रश्न गरे । 

    विसं २०१८ मा जन्मीएका सांसद राणा बाँके क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद छन् । उनी नेपालगञ्ज उपमहानगरपालिका पूर्वप्रमुख पनि हुन् । सांसदमा विकास निर्माणका कामको क्षेत्राधिकार नभएको जनताले नबुझ्दा पीडा महसुस भएको अनुभव उनले राखे ।

    “सांसदहरू कानुन बनाउन निर्वाचित हुन्छौँ तर जनताले त्यसरी हेर्दैनन् । जनताले सडक, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका लागि निर्वाचित गरेको महसुस गर्छन् । केही जनताले विकास निर्माण गर्न सकेन भन्छन् नै । यो नबुझ्दा आफूलाई पीडाचाहिँ लाग्दोरहेछ”, उनले भने । आफ्ना मतादाता निर्वाचित भएको एक वर्षमा विकास निर्माण काम नभएको र कानुन निर्माणको अवस्थाप्रति सन्तुष्टि रहने वातावरण नभएको उनको ठहर छ । 

    आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको स्मरण गर्दै उनले भने, “केही जनताले कानुन निर्माण गर्ने निकायमा निर्वाचित गरेको बुझ्नुहुन्छ । विकासका पूर्वाधार निर्माण गर्ने निकाय स्थानीय तह हो । दुई–दुईपटक प्रमुख भएर स्थानीय निकायमा त्यो भूमिका म निभाएको छु ।”

    विसं २०४९ बाट सांसद राणाले राप्रपाको युवक सङ्गठनबाट आफ्नो राजनीति सुरुआत गरेका थिए । पछि स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गरी सांसद पदमा निर्वाचित भएको सांसद राणापछि नेकपा (एमाले) प्रवेश गरी २०५४ सालमा निर्वाचित नगरप्रमुखसमेत भएका थिए । पुनः राप्रपा फर्कीएका सांसद राणा २०७४ सालमा प्रमुख भएर हाल प्रतिनिधिसभा सदस्य छन् । 

    संसदमा सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा कानुन निर्माण गर्नुपर्दछ । जुन कुनै एक दलका समर्थकका लागि होइन । जनता र मुलुकमा अमनचयन सिर्जना गर्नका लागि । भूमिका र जिम्मेवारीका हिसाबले एउटा विधायकले विधेयक र कानुन निमार्णमा केन्द्रित हुनुपर्ने हो तर सोहीअनुसार हुनसकेको छैन । सांसद राणाले संसद्ले करोडौँ खर्च गरेर विधेयक पास गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

    “हामी करोडौँ खर्च गरेर एउटा विधेयक पास गर्छौँ । संसद्ले आवश्यक विधेयक पास गर्न नसकेको अवस्था छ । कानुन बनाउने मुख्य जिम्मेवारी बोकेका सांसदप्रति जनता सन्तुष्टि हुने अवस्था छैन”, उनले भने । सांसद राणाले अभावैअभाव र असहमतिका बीच चलिरहेको सदन एउटा गठबन्धन छाडेर अर्को गठबन्धनमा उभिएको परिणाम रहेको आरोप लगाए ।
     
    मुलुकको आर्थिक अवस्था निरासाजनक रहेकामा चिन्ता व्यक्त गर्दै सांसद राणाले भ्रष्टाचार नै देश विकासको बाधक रहेको बताए  । “मुलुकमा हरेक कुराको अभाव छ । रोजगारी छैन, विकास छैन । भ्रष्टाचार मौलाउँदै जानु देश विकासको बाधक हो । मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सबैले पहल गर्नुपर्छ”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट