इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदानमा परेनन् नेपालका विपिन
इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदानमा परेनन् नेपालका विपिन
काठमाडौँ । हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । एक घण्टा लामो ढिलाइले गाजामा अस्थायी युद्धविराम भंग हुन सक्ने डर समेत पैदा गरेको थियो । हमासले १३ इजरायलीसँगै चार थाई नागरिकलाई रिहा गरेपनि नेपाली बन्धक विपिन जोशीलाई भने रिहा गरेको छैन ।
इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली आठ बालबालिका र पाँच महिलालाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो। उनीहरूलाई राफा क्रसिङ पार गरेर इजिप्ट लगिएको थियो । त्यसपछि त्यहाँबाट भने इजरायल लगियो । उनीहरू सबैलाई अस्पतालमा लगिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलीसँगै चार थाई नागरिक पनि रिहा भएका छन् ।
हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको इजरायलको जेलसेवाले आइतबार बिहान जनाएको छ। शुक्रबार पनि यस्तै फेरबदल भएको थियो । प्यालेस्टाइनी प्राधिकरणको बन्दी मामिला आयोगले पुष्टि गरे अनुसार इजरायलले छाडेका बन्दीहरू रेडक्रसका बसमा अल(बिरेह लगेर छोडिएको थियो ।