एमाले अभियानमा पहिचानवादीको सडकमा रुख ढालेर अवरोध, आठ जना पक्राउ
एमाले अभियानमा पहिचानवादीको सडकमा रुख ढालेर अवरोध, आठ जना पक्राउ
विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्न खोज्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बास्तोलाका अनुसार बन्द गर्दै हिँड्ने ८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाबारे प्रहरीले खुलाउन चाहेको छैन । एमालेले आज उदयपुरको घुर्मीमा पहिलो सभा गर्दै छ । सुदूरपश्चिमको झुलाघाटबाट शुरू भएको नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा आजदेखि कोशी प्रदेशमा प्रवेश गरेको हो ।
एमालेको यात्रालाई अवरोध पुर्याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन् । एमालेले भने अवरोध नगर्न अपिलसमेत जारी गरेको छ । एमाले अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराईसहितका नेताहरू यात्रामा सहभागी भए अवरोध गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
बिहान मध्यपहाडी राजमार्गको विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवरुद्ध सडक खुलाएका हुन् ।