एनसेल विरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
एनसेल विरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौँ । एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी लगातार तीन दिनदेखि हेर्न नभ्याइने सूचीमा पर्दै आएको छ ।
उक्त रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार न्यायाधीश विनोद शर्मा र मंगलबार प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको थियो ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी नोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गर्नुका साथै शेयर खरिद बिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।
एनसेलको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलिया सोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर समेत गरिएको छ ।
सांसद सिंहले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।