विकास नीति संस्कृतिमैत्री हुनुपर्छः मन्त्री किराँती
विकास नीति संस्कृतिमैत्री हुनुपर्छः मन्त्री किराँती
काडमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका छन्। बुधबार साँस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली साँस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका हुन्।
उनले देशको विकास योजनाहरुमध्ये ५२ प्रतिशत विकासका योजनाहरु पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको दाबी गरे। विकास नीति तथा योजनाहरु संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरु हुने गरेको उनको भनाइ छ।
मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको बताए। सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उनले बताए। उनले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताए।