१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ ।
घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।