धनुषामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुईजना पक्राउ
धनुषामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुईजना पक्राउ
जनकपुरधाम । धनुषामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको सबैला नगरपालिका-९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको हो ।
हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राती करिब ८ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बुधबार राती करिब ९ बजे गाउँकै छिमेकीको मोटरसाइकलमा गएकी बालिका अबेर रातीसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राती सबैला नगरपालिका-९ स्थित खाल्डोमा बालिकाको शव फेला पारेको हो । घटनामा संलग्न रहेको आरोपमा दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकाको जबरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ ।
घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि २५ र ३६ वर्षका उनीहरू दुबैजना स्थानीय युवक रहेको बताइएको छ । उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।