लेखा समिति सभापतिको आरोप - राज्य व्यवस्था समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजियो
लेखा समिति सभापतिको आरोप - राज्य व्यवस्था समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजियो
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । उनले एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन राज्य व्यवस्थापन समिति आफ्नो कार्यक्षेत्र भन्दाबाहिर गएको आरोप लगाए ।
उनले फेसबुकमा लेखेका छन्, ‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु ।’
सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो । प्रचण्डले एनसेल प्रकरणमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको उनले बताएका थिए ।
एनसेलले कानूनविपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही गर्ने उनको भनाइ थियो । उनले यो आफ्नो परिवारलाई जोड्नु संविधान र लोकतन्त्रमाथिकै हमला भएको टिप्पणीसमेत गर्न भ्याएका थिए ।