कार्यसम्पादन समिति बैठक सारेर कांग्रेसका नेताहरू आन्तरिक छलफलमा
कार्यसम्पादन समिति बैठक सारेर कांग्रेसका नेताहरू आन्तरिक छलफलमा
काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा जुटेका छन्। आइतबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको छ। अब बैठक आइतबार अपराह्न ४ बजे सानेपामा बस्ने गरी तय भएको केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा भाग लिन सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, जीवन परियार, बद्री पाण्डे, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र परराष्ट्र मन्त्रीसमेत रहेका एनपी साउदलगायत सानेपा पुगेका थिए।
बैठक सरेको जानकारी पाएपछि केसी, साउदलगायत सानेपाबाट निस्किएका छन्। आइतबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी भएर कांग्रेसले राष्ट्रिय सभामा १० सिट लिने सहमति गरेपछि सभापति देउवासहित नेताहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेका हुन्।
सभापति देउवाको निवास धुम्बाराहीमा नेता शेखर कोइरालासहित छलफल भएको हो। छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखकलगायत छन्। कांग्रेस संस्थापनइतर समूहले कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। यसैबीच केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्ला र प्रदेशबाट उम्मेदवारका लागि सिफारिस भएकाहरू उपस्थित भएका छन्।