Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै

    काठमाडौँ । संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराए ।
     
    निर्माणाधीन सङ्घीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिइयो । अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर सङ्घीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताए ।

    “भवन निर्माणलाई अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पु-याइएको छ”, मन्त्री गुरुङले भने, “छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौँ ।”

    भ्याट बाहेक रु छ अर्ब ९२ करोडको लागतमा अघि बढेको उक्त परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । उक्त भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ । लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न दु्रत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिए ।

    समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनपर्ने भवन कोभिड–१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदैआएको प्रतिक्रिया दिए । कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।

    खतिवडाले भने, “भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ । मन्त्रिसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौँ । आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ ।” दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उनले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गरे ।

    प्रतिनिधिभाको भूइँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरु कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नु पर्नेछ ।

    अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको उक्त भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार