Sep 20 2024 | २०८१, असोज ४ गते

३ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो काठमाडौँको तापक्रम

३ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो काठमाडौँको तापक्रम

एभरेष्ट हेडलाइन्स
शनिबार, माघ १३ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, माघ १३ २०८०
  • ३ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो काठमाडौँको तापक्रम

    काठमाडौँ  ।  काठमाडौँ उपत्यकाको तापक्रम आज शनिबार यो वर्षको अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।

    images
    images

    ‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भनिन्।  यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस देखिएको थियो। आज त्यसभन्दा पनि तल झरेको हो।  

    आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ। तापक्रम घटेकाले आज बिहान काठमाडौँ उपत्यकामा निकै कठ्यांग्रिँदो चिसो महसुस भइरहेको छ।  

    मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ। हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।

    २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

    शनिबार बिहान काठमाडौँ उपत्यकामा पातलो हुस्सु लागिरहेको मौसमविद् नगरकोटीले बताइन्। ‘अहिले उपत्यकाको भिजिबिलिटी (पारदर्शिता)३ किलोमिटर छ’, उनले भनिन्, ‘घाम लाग्दै जाँदा हुस्सु हट्नेछ।’

    आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान रहेको उनले बताइन्। यसको अर्थ आकाशमा अलिअलि बादलसँगै घाम लाग्नेछ। 
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट