Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
  • काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन्।

    images
    images

    आज रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको बाँकी अवधिमा थप मेहनत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखहरूलाई निर्देशन दिए । 

    उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताए । उनले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिए । 

    साथै उनले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न निर्देशन दिए। 

    उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे । उनले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न र समस्याको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपायहरू पहिल्याइ आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको कुरामा जोड दिए। 

    त्यस अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आवको दोस्रो त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमरेमा प्रस्तुतीकरण राखेका थिए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सबै आयोजना प्रमुखलाई निर्धारित समयमै लक्ष्य बमोजिमको प्रगति र माइलस्टोन हासिल गर्न निर्देशन तथा बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्नेमा जोड दिए । 

    राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले विकास आयोजनामा खानी तथा नदीजन्य निर्माण सामग्रीको उपयोग गर्ने कुरा झन्झटिलो भएकाले यसलाई सहजीकरण गर्दै विकास आयोजनाका लागि आवश्यक कच्चापदार्थ स्थानीय तबरमा सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन आवश्यक भएको बताए । उनले विकास निर्माणलाई गति दिन जग्गा प्राप्ति र रुख कटान लगायतका विषयलाई आवश्यक सहजीकरण गर्दै अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजनालगायत विभिन्न सडक करिडोरको प्रगति सन्तोषजनक रहेको कुरा बताउँदै हुम्लाको सदरमुकामलाई यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने गरी नेपाली सेनाले प्रशंसनीय ढङ्गले काम गरिरहेको कुरा बताए । 

    प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाअन्तर्गत सञ्चालित आयोजनालाई निर्धारित लागत, समय र तोकिएको गुणस्तरमा सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको बताए ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलगायतका पदाधिकारीको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट