बालकुमारी घटना : एमाले र रास्वपाले मागे मन्त्री ज्वालाको राजीनामा
बालकुमारी घटना : एमाले र रास्वपाले मागे मन्त्री ज्वालाको राजीनामा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।
ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । गत पुस १३ गते ललितपुरको बालकुमारीमा इपीएस भाषा परिक्षा विवादमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो ।
आइतबारको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे । त्यसपछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।