Sep 17 2024 | २०८१, असोज १ गते

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
  • कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरियाको चेओरवन सहर र नेपालको ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराएका छन् । 

    images
    images

    कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत गर्दै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरका असल अभ्यास ललितपुर महानगरले अनुशरण गर्दै कार्यान्वयन गरिने बताए । 

    “हामीले स्मार्ट सिटी बनाउने भनेर हरेक काम सोहीअनुसार गरिरहेका छौँ, चेओरवन सहरसँग भगिनीसम्बन्ध कायम गर्दै त्यहाँका सकारात्मक पक्षको ज्ञान हासिल गरी ललितपुरलाई अझै बढी व्यवस्थित महानगर बनाउने प्रयत्नमा लाग्नेछौँ । भगिनीसम्बन्ध कायम गरेर विकासका सन्दर्भमा त्यहाँका अभ्यासलाई अनुशरण गर्ने हाम्रो प्रयास हुनेछ”, प्रमुख महर्जनले भने ।

    चेओरवन सहरका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए । “सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन्छु । यहाँको काष्ठकला, धातुकला र ढुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ”, उनले भने ।

    चेओरवन सहर र ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण हुने उनले बताए । आगामी दिनमा भगिनीसम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने उनको भनाइ थियो । जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टोलीलाई पुनः भ्रमणको निम्ता दिँदै कोरियामै भगिनीसम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए ।

    ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरु अवलोकनका लागि प्रतिनिधिमण्डलसहित चेओरवन सहरका मेयर ललितपुर आएका हुन् । यसअघि गत असोजमा ललितपुर महानगर प्रमुख महर्जनले कोरियाको भ्रमण गरेका थिए। 

    उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुसी लागेको बताए । कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नुपर्नेमा उनको जोड थियो । 

    मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकुद विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्जलगायत छन् । तीन दिने भ्रमणमा उनीहरुले पाटन दरबार क्षेत्रको अवलोकन, बुङ्मतिका सम्पदा अवलोकन गर्नुहुने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी गराए।

    कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँसहितको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार