Sep 17 2024 | २०८१, असोज १ गते

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
  • शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

    images
    images

    सांसद ठाकुरप्रसाद गैरेले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न समेत माग गरे। 

    सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरे । सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाए । सांसद दीपक खड्काले बाढी पहिरोपीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको र सङ्खुवासभाको किमाथांका नाका खुल्न नसकेको बताए ।

    सांसद दीपा शर्माले राष्ट्रिय गौरवका आयोजना नै बजेट अभावका कारण समस्या रहेको बताए । सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको र मिटरब्याज्पीडितले न्याय पाउन नसकेको विषय उठाए। 

    सांसद देवप्रसाद तिमलसेनाले पनि दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको विषयबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गरे । पशु चौपायामा लागेको लम्पीस्किन रोगको बीमाबापतको रकम भुक्तानी हुन नसकेको विषयमा पनि उनले उठाए । उनले सम्बन्धित विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रीमन्त्रीले सदनमार्फत जवाफ दिनुपर्ने माग गरे । सांसद नवलकिशोर साह सुडीले पनि दुग्ध किसान पीडित भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

    सांसद दुर्गा राईले संसद्को कार्यतालिका बनेर कार्यान्वयनमा आए पनि विभिन्न बहानामा संसद् अवरोध भइरहेकोबारे ध्यानाकर्षण गराए । सांसद देवेन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेको दाबी गरे।

    सांसद धवल शमशेर राणाले नेपालको संविधानमै व्यवस्था परिवर्तनको अधिकार दिएकाले संसदमा फरक मत राख्न सकिने व्यवस्था राख्न सकिने जिकिर गरे । 

    सांसद धनबहादुर बुढाले डोल्पाको विमानस्थल सञ्चालन हुन नसकेको विषय उठान गरे । सांसद निर्मला कोइरालाले मिटरब्याजपीडित र लघुवित्तपीडितले भोग्नुपरेको समस्यामाथि सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखे ।

    सांसद निशा डाँगीले हवाई यातायात असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिमा गौतमले काठमाडौँको तीनकुने क्षेत्रको जग्गा अधिग्रहण गर्दा जग्गाधनीलाई सरकारले हालसम्म मुआब्जा वितरण नगरेको बतए । सांसद प्रतीक्षा तिवारीले शून्य समय एक मिनेटबाट बढाएर तीन मिनेट बनाउन माग गरे ।

    सांसद प्रदीप यादवले केही इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक बन्द गर्ने सरकारको निर्णय नमानेको विषय संसदमा उठाए । सांसद बद्रीप्रसाद पाण्डेले वर्षान्तको खर्च र असारे विकास रोकिनुपर्ने बताए । सांसद बलराम अधिकारीले वाणगङ्गा सिँचाइ आयोजनालाई केन्द्र सरकार मातहत ल्याउन माग गरे । सांसद वासुदेव घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार