Sep 17 2024 | २०८१, असोज १ गते

ट्रेड युनियन कांग्रेसको ७८औँ स्थापना दिवस मनाइँदै

ट्रेड युनियन कांग्रेसको ७८औँ स्थापना दिवस मनाइँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • ट्रेड युनियन कांग्रेसको ७८औँ स्थापना दिवस मनाइँदै

    काठमाडौँ । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभर ७८औँ स्थापना दिवस मनाउँदैछ ।

    images
    images

    नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ । 

    श्रमिकको योगदानले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्तामा पुगेपछि राजनीतिक दल श्रमिकको मुद्दामा गम्भीर हुन नसकेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।

    “व्यवस्था परिवर्तन भए पनि श्रमजीविको अवस्थामा परिवर्तन भएको छैन । अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू भएका छैनन्”, उनले भने, “राज्यले रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ युवाहरु जोखिमयुक्त काम गर्न विदेशिनु परेको छ ।”

    युद्ध, आर्थिक मन्दी, महामारी, जलवायु परिवर्तन, बौद्धिक कृत्रिमता, व्यवस्थित श्रम बजारको अभाव, गिग र डिजिटल अर्थतन्त्रलगायत कारणले श्रमिकमा थप चुनौती थपिएको नेपाल ट्रेड युनियनले जनाएको छ । 

    ट्रेड युनियनको पहल र दबाबमा सरकारले श्रम तथा ट्रेड युनियन ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको भए पनि कार्यान्वयन फितलो भएको भन्दै कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई निरन्तर दबाब दिइने अध्यक्ष कुँवरले बताए ।

    ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले श्रमजीवी र श्रम बजारका समस्या समाधान, चुनौतीको सामना गर्न र श्रमजीवी वर्गको जीवनस्तरमाथि उठाउन सङ्गठन विस्तार, सुदृढीकरण, प्रशिक्षण र नीतिगत हस्तक्षेपका लागि युनियनले काम गरिरहेको बताए ।

    निरङ्कुश राणा शासन अन्त्य गर्न प्रमुख भूमिका खेलेका कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाल मजदुर सङ्घलाई विसं २०४७ मा नेपाल ट्रेड युनियन कांग्रेसका नाममा पुनःगठन गरी नेपाली श्रमजीवीको हकअधिकार संरक्षण, सामाजिक सुरक्षा, मर्यादित रोजगारी, सुरक्षित कार्यस्थल, स्वस्थ औद्योगिक सम्बन्ध, सङ्गठन स्वतन्त्रताको क्षेत्रमा क्रियाशील रहँदै आएको महासचिव राईले जानकारी दिए ।

    नेपाल ट्रेड युनियन कांग्रेसले ७८औँ स्थापना दिवसका अवसरमा एक विज्ञप्ति जारी गरी देशभरका सम्पूर्ण श्रमजीवी, सरोकारवाला एवं शुभचिन्तकमा हार्दिक शुभकामना व्यक्त गरेको छ । यस अवसरमा श्रमिक आन्दोलनका अग्रज नेतृत्वलाई सम्मानसहित स्मरण गर्दै श्रमिक आन्दोलनसँगै विभिन्न लोकतान्त्रिक आन्दोलनमा जीवन आहुति गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धासमेत व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार