माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। शनिबार दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। बैठकमा हालै देशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।
यही फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसमेतको सहभागितामा नयाँ सत्ता समीकरण बनाएपछि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो।
माओवादीले आफूसँगको सत्ता सहयात्रा तोडेपछि कांग्रेस रुष्ट छ। कांग्रेसले पनि अर्को सत्ता समीकरणको प्रयास गरिरहँदा प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत लिने तयारीमा लागेका छन्। विश्वासको मत लिन प्रधानमन्त्रीलाई एक महिनाको समय छ। तर, आगामी सोमबारकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका माओवादी स्रोतले जनाएको छ।