अवरोधका कारण प्रतिनिधि सभाको कार्यसूची प्रभावित, आइतबारको बैठक शोक प्रस्ताव पारितमा सीमित
अवरोधका कारण प्रतिनिधि सभाको कार्यसूची प्रभावित, आइतबारको बैठक शोक प्रस्ताव पारितमा सीमित
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको दैनिक कार्यसूची प्रभावित हुँदै आएको छ ।
गत शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहे पनि कांग्रेस सांसदहरुको अवरोधका कारण बैठक नै स्थगित भएको थियो । आइतबारको बैठकमा समेत कांग्रेस सांसदले गृहमन्त्रीले राजीनामा दिनु पर्ने अडान लिएपछि बैठक शोक प्रस्ताव पारितमा सीमित भएको थियो । जनता समाजवादी पार्टी (जसपा)की सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आइतबारको बैठक स्थगित भएको छ । उनको उपचारका क्रममा आइतबार बिहानमात्रै निधन भएको थियो ।
आइतबारको बैठक जम्मा ४ मिनेट २५ सेकेन्डमात्र बसेको थियो । यसअघि आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो । आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने तयारी संघीय संसद् सचिवालयको थियो । अर्को बैठक सोमबार बस्नेछ ।