गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिन्छ : बालेन
गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिन्छ : बालेन
काठमाडौँ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताएका छन् । उनले विभागीय कर्मचारीहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गरे ।
आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालू आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताए ।
उनले भने, ‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारबाही गर्नैपर्ने हुन्छ । तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ ।’
गएको वर्षको तुलनामा यसवर्ष गुनासा कम देखिएको र सुधारका संकेतहरु देखिएको उनले बताए । 'खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ । काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’
वर्षौंसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताउँदै मेयर बालेनले धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएको बताए ।