माओवादी नेता कृष्णबहादुर महरा पक्राउ
माओवादी नेता कृष्णबहादुर महरा पक्राउ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ। सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई लुम्बिनीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन्।
जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसदमा माग उठेको थियो ।