प्रहरीको मनोबल उच्च राख्न नीति तथा योजना बनाउन लाग्नेछु : गृहमन्त्री रवि लामिछाने
प्रहरीको मनोबल उच्च राख्न नीति तथा योजना बनाउन लाग्नेछु : गृहमन्त्री रवि लामिछाने
काठमाडौँ । उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चैत ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरिक्षण भ्रमण गरे साथै बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन समेत गरे ।
उनले कर्तव्यपालनाको क्रममा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवाजनमा संवेदना प्रकट गर्दै विभिन्न घटनामा परी अंगभंग तथा घाईते भएका राष्ट्रसेवकहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेका थिए ।
निरीक्षण भ्रमणको क्रममा उपप्रधान मन्त्री एवं गृहमन्त्री लामिछानेले विशेष परिस्थितिमा गठन भएको संगठनको सुरुवाती भूमिका कठोर र समय कष्टकर रहेको स्मरण पनि गरे ।
सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट व्यावसायीकता प्रदर्शन गर्दै मुलुकको सर्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षासहित प्राप्त बिशिष्टिकृत जिम्मेवारीहरु निर्वाह गरी थप परिस्कृत हुँदै जाने विश्वास व्यक्त गरे ।
संगठनको भौतिक र प्राविधिक स्तरोन्नतीसहित जनशक्तिको मनोवल उच्च राख्न सरकारको गच्छे अनुसारको नीति तथा योजना बनाउन र कार्यक्रम तय गर्न प्रतिवद्धता व्यक्त गर्दै संगठनका राष्ट्रसेवकहरुले सिमित श्रोतसाधन र सेवा सुविधा तथा अनेकौ समस्याका बीच पनि कर्तव्यलाई शिरमा राखेर गरेको राष्ट्रसेवाको उच्च प्रशंसा गरे ।
उनले संगठन पूर्ण व्यावसायीक बन्दा सम्पूर्ण सदस्यहरुको बृत्तिविकास स्वतः हुन्छ, संगठन पूर्ण व्यावसायीक बनाउन प्राथमिक ध्यान संगठन सुदृढीकरण र व्यावसायीकता विकासमा जानुपर्छ भन्दै समान अवसर हुने गरी ऐन नियमहरु समयसापेक्ष संशोधन, बर्तमान समस्याको निराकरण, दिर्घकालिन समाधानको बाटो पहिल्याउँदै योजनाहरु तय गर्नुपर्ने बताए ।
माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री लामिछानेले सिमितताका बीच सशस्त्र प्रहरी बललाई मुलुकको आवश्यकता र नागरिकको अपेक्षा अनुसारको सुरक्षा संगठनको रुपमा थप सुदृढ गर्दै देशको क्षमतालाई ध्यानमा राखेर जनशक्तिसँगै क्षमता अभिबृद्धि, भौतिक संरचना निर्माण र बिस्तार, उच्चतम् प्रविधिको प्रयोग, संरचनात्मक र कानूनी सुधारका पक्षमा सामूहिक प्रयासको खाँचो समेत औँल्याए ।
उनले संयुक्त राष्ट्रसंघको साझा छातामुनि रहेर समेत कार्यसम्पादन गर्ने यस संगठनलाई अन्तर्राष्ट्रिय परिदृष्य र मापदण्ड अनुसार बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै नेपालको खुल्ला सीमाको सुरक्षामा सीमा पोष्टहरु बनाउने, थप बिओपीहरुको स्थापना र मौजुदा बिओपीहरुको स्तरबृद्धि गर्ने, समग्रमा संगठनलाई प्रविधिमैत्री र चलाएमान बनाउनेतर्फ प्रयास केन्द्रित रहने बताए ।
उनले कानूनले निर्दिष्ट गरेका कार्य गर्न आदेश पर्खनु नपर्ने, कार्य सम्पादन पश्चात प्रतिवेदन पेश गरे पुग्ने, गैर व्यावसायीक आचरण कुनै पनि हालतमा क्षम्य नहुने, कार्य क्षमता मूल्यांकनको आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण हुने, संगठनको अनुशासन उलंघन हुने गतिविधिमा संलग्नलाई निर्मम व्यवहार गरिने समेत बताए ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सरकारले दिएको जिम्मेवारीलाई नयाँ ढंगले अगाडी बढाउँदै लैजाँनुपर्ने उल्लेख गर्दै उपलब्ध श्रोतसाधनको अधिकतम प्रयोग गर्दै आफ्नो जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गरी देश र नागरिकप्रति सशस्त्र प्रहरी बल नेपालले देखाएको प्रतिवद्धता, समर्पणभाव र पेशाप्रतिको ईमान्दारिताको मुक्तकण्ठले प्रशंसा गरे ।
व्यक्तिगत समस्याहरुलाई थाती राखी विपद् जोखिममा परेका जनताको सुरक्षामा मात्र नभई सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणमा समेत अहम भूमिका निर्वाह गर्दै आईरहेको बताउँदै संगठन तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको समस्याहरुलाई समाधान गर्न आफु लगायत सम्बद्ध निकायहरु सदैव सकारात्मक रहेको समेत बताए ।
उनले संगठनमा सुचना संकलनको लागि प्रविधिको उच्चतम ढंगले प्रयोग गर्नुपर्ने बताउँदै बरिष्ठ अधिकृत सम्मेलनबाट आएको निचोड तथा अपेक्षाकृत कार्यहरुको लागि नेपाल सरकार तथा गृहमन्त्रालय सदैव सकारात्मक रहने बताए ।