Sep 19 2024 | २०८१, असोज ३ गते

बिम्स्टेकबाट आर्थिक विकासको लाभ लिन सांसदहरुको आग्रह

बिम्स्टेकबाट आर्थिक विकासको लाभ लिन सांसदहरुको आग्रह

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
  • बिम्स्टेकबाट आर्थिक विकासको लाभ लिन सांसदहरुको आग्रह

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमाथि छलफल गर्दै सांसदहरुले नेपालको आर्थिक विकासका क्षेत्रमा यस मञ्चलाई उपयोग गर्न आग्रह गरेका छन् ।

    images
    images

    बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘बिम्स्टेक बडापत्र’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

    छलफलमा भाग लिँदै सांसदहरुले बिम्स्टेकको सदस्य राष्ट्र हुनुको नाताले गरिबी उन्मुलनलगायत ऊर्जा, पर्यटन, यातायात सञ्जाल, पूर्वाधारको विस्तार र जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषयमा नेपालले यसबाट लाभ लिनसक्नुपर्नेमा जोड दिए । उनीहरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पनि प्रभावकारी बनाउन जोड दिए । 

    छलफलमा सांसदहरुले बिम्स्टेक र सार्कलाई सँगसँगै गति दिन नेपालले ध्यान दिनुपर्ने आग्रह गर्दै भू–राजनीतिक प्रभावबाट नेपाल मुक्त हुनुपर्ने जनाए । उक्त छलफलमा सांसदहरु रघुजी पन्त, योगेशकुमार भट्टराई, शिशिर खनाल, मेटमणि चौधरी, मनिष झा, अब्दुल खान, अमरबहादुर थापा, रञ्जुकमारी झा, चित्रबहादुर केसी, प्रेम सुवाल, प्रदीप पौडेल, ध्रुवबहादुर प्रधान, विनिता कठायत र सञ्जयकुमार गौतमले भाग लिएका थिए । 

    छलफलमा उठेका विषयमा जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले प्राप्त सुझावहरुलाई गम्भीरतापूर्वक मनन् गर्दै दक्षिण पूर्वी मुलुकबीच सहकार्य बढाउन क्षेत्रीय मञ्च स्थापना भई यस क्षेत्रमा आर्थिक वृद्धि र सहयोगलाई विस्तार गर्ने बिम्स्टेकको लक्ष्य अवगत गराए । उक्त मञ्चमा सदस्य भएपछि नेपालले सक्रिय सहभागिता गर्दै आएको भन्दै उनले प्राथमिकताका क्षेत्र पहिचान गरी विकासका क्षेत्रमा लाभ लिन योजनाबद्धरुपमा सरकारले काम गरिरहेको स्पष्ट गरे । 

    उपप्रधानमन्त्री श्रेष्ठले सदस्य मुलुकमध्ये अधिकांशले बडापत्रको अनुमोदन गरिसकेकाले नेपालले पनि अनुमोदन गरी थाइल्याण्डमा हुने यसको शिखर बैठकमा सक्रिय सहभागिताको तयारी गरेको जानकारी दिए । बिम्स्टेकका साथै सार्कलाई पनि उत्तिकै अगाडि बढाउनुपर्नेमा सरकार स्पष्ट रहेको भन्दै सार्कको आफ्नै महत्व रहेकाले बिम्स्टेकले यसलाई प्रतिस्थापन गर्न नसक्ने उनले बताए । 

    नेपाल सरकारले सार्कलाई गति दिने सवालमा आफ्नोतर्फबाट पहल गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले अवगत गराए । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल सन् २००४ मा आबद्ध भएको थियो । सात राष्ट्र सदस्य रहेको यस मञ्चको हाल नेपाल अध्यक्ष रहेको छ ।

    बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरे भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

    बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको यही चैत ४ गते निधन भएकाले जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सामानुपातिकतर्फको एक स्थान रिक्त रहेकाबारे नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम जानकारी गराएका थिए ।

    बैठकमा उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभाको विभिन्न समितिमा सदस्यहरुको हेरफेर प्रस्ताव गर्दा सभाले सहमति जनाएको थियो । उपसभामुख रानाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको रिक्त सभापति पदको निर्वाचन यही फागुन ७ गते दिउँसो १ बजे हुनेगरी सूचना प्रकाशन गर्न संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार