मधेश सरकारमा एमाले भित्रियो, कांग्रेस बाहिरियो
मधेश सरकारमा एमाले भित्रियो, कांग्रेस बाहिरियो
काठमाडौँ । एमाले मधेश सरकारमा सहभागी भएको छ । एमाले मधेश संसदीय दलका नेता सरोज यादव भौतिक तथा पूर्वाधारमन्त्री बनेका हुन् । उनले सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिए ।केन्द्रमा एमाले–माओवादीसहित पाँचदलीय नयाँ समीकरण बने पनि मधेश सरकारबाट कांग्रेस बाहिरिएको छैन । कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरूलाई पदमुक्त गरी एमालेलाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
एमालेबाट यादवसँगै राजकुमार लेखी गृह, सञ्चार तथा कानुनमन्त्री, शारदा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री र शत्रुघ्नप्रसाद सिंहले शिक्षा तथा संस्कृतिमन्त्रीको रूपमा शपथ लिने तय थियो । तर, एमालेभित्र को मन्त्री बन्ने भन्नेमा विवाद बढेपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको हो ।
मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीलाई हटाए पनि लोसपाका मन्त्रीलाई सरकारमै राखेका छन् । केन्द्रको समीकरणअनुसार लोसपा कांग्रेस गठबन्धनमा छ । तर मधेशमा भने लोसपा जसपा नेतृत्वकै सरकारमा छ । कांग्रेसले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थनबारे केही निर्णय गरिसकेको छैन । अब मधेशमा कांग्रेस र जनमत पार्टी मात्रै विपक्षमा छन् ।
कांग्रेसले दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अहिले मुख्यमन्त्री यादवलाई एमालेको २४, जसपाको १९, माओवादी र लोसवाको नौ–नौ, एकीकृत समाजवादीको सात तथा नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको एक–एक सांसदको समर्थन छ ।