अध्यक्ष महिन्द्र राय यादवसहित नेताहरूको जिम्मेवारी खोस्ने नेसपाको निर्णय
अध्यक्ष महिन्द्र राय यादवसहित नेताहरूको जिम्मेवारी खोस्ने नेसपाको निर्णय
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अर्का अध्यक्ष महिन्द्र राय यादवसहित नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ।
काठमाडौंको जडिबुटीमा सोमबार बसेको केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्न हस्ताक्षर गर्नेहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलका अनुसार अध्यक्ष यादवसहितलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय भएको छ।
‘पार्टीलाई अमुक पार्टीमा विलय गराउने दुषित नियतले वक्तव्यबाजी गर्ने व्यक्तिहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय भएको छ,’ उनले भने।
गत शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित माओवादी पदाधिकारीहरू र नेसपा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठको उपस्थितिमा नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो।
उक्त सहमतिमा माओवादी महासचिव देवप्रसाद गुरूङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका थिए। माओवादीसँग पार्टी एकता गर्ने यो सहमतिमा अध्यक्ष भट्टराई पक्षले विमति राख्दै आएको थियो।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठक र सोमबार बसेको नेसपा केन्द्रीय समिति बैठकमा अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठलगायत उपस्थित थिएनन्।
नेसपाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएपछि अध्यक्ष यादव पक्षले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।
नेसपाले भने आगामी माघभित्र महाधिवेशन गर्ने गरी अध्यक्ष भट्टराईको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिमा दुई तिहाइभन्दा धेरै सदस्य उपस्थित भएको पोखरेलको दाबी छ।
‘सबै प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण भएका छन्,’ उनले भने, ‘असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ भने विधान नियमावली तथा समसामयिक राजनीतिक प्रस्तावसमेत पारित भएको छ।’