गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य छ : शेखर कोइराला
गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्न छुट नभएको बताएका छन्। शनिबार काठमाडौंमा पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसदसम्म विरोध भइरहँदा पनि गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन ? भन्दै प्रश्न समेत गरे।
नेता कोइरालाले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपमा अनुसन्धान गर्न दिएर नैतिकता देखाउनुपर्ने जिकिर गरे। कोइरालाले भने, 'तत्कालका लागि अनुसन्धानमा सहयोग गरेर यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भइहाल्यो नि।' उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंबासी चुपचाप बसिरहेको देख्दा अचम्म लागेको बताए। हरेक परिवर्तनमा काठमाडौंबासीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै नेता कोइरालाले अबका दिनमा उनीहरूको आवश्यकता रहेको उल्लेख गरे।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ। समिति नबने संसद चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ।