एमाले झापाको अध्यक्षमा प्रेम गिरी
एमाले झापाको अध्यक्षमा प्रेम गिरी
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन्। पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टङ्क दङ्गालले आज घोषणा गरेका हुन् ।
पार्टीको उपाध्यक्षमा शिवकुमार ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दङ्गालले जानकारी दिए । उनका अनुसार जिल्लामा अधिवेशनबाट एक सय ४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।
पार्टीका झापा इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य विशाल भट्टराईका अनुसार पदाधिकारी पाँच, १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसङ्ख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् ।
चयन भएको समितिलाई आजै शपथग्रहण गराइएको छ । उनले बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने जानकारी दिए । एमाले अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।