तातो हावाको लहर अझै बढ्ने, सतर्कता अपनाउन अनुरोध
तातो हावाको लहर अझै बढ्ने, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम् तापक्रम क्रमिकरूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।
‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ’, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३।६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।
सूचनामा भनिएको छ, ‘तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ ।’