Sep 20 2024 | २०८१, असोज ४ गते

सीप मेलामा दश हजार बढीको आवेदन

सीप मेलामा दश हजार बढीको आवेदन

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
  • सीप मेलामा दश हजार बढीको आवेदन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् ।

    images
    images

    कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन् । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ । 

    वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिइन्। 

    “मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब पाँच हजार जनाले फाराम भरेका छन् । विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन”, प्रमुख कोइरालाले भनिन्। 

    फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिइन् ।

    कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिए । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ ।

    मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पु-याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिइन् । 

    अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट