Nov 25 2024 | २०८१, मंसिर १० गते

images

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

    काठमाडौँ । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । 

    images
    images
    images

    सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताएका थिए । 

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताए ।
     
    सभामुख घिमिरेले भने, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।” 

    उनले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे । 

    संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उनले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिए।   

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि दु्रतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताए । 

    कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उनको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उनले बताए । 

    बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो-याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने  आफूहरुको धारणा रहेको बताए । 

    “हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भने । 

    नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताए । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उनले उल्लेख गरे । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गरेको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताए । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले उल्लेख गरे । 

    बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री  लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको प्रमुख सचेतक परियारले जानकारी दिए ।  

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार