वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो,एक वर्षमा ८२ लाखको निधन
वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो,एक वर्षमा ८२ लाखको निधन
काठमाडौँ । स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार ५०० मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो ।
विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धुँवामा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६ प्रतिशत को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।
संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरीकको मौलिक हकको रुपममा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।
वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।
वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखीममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।
यस परिस्थितीमा हामी तपशिलमा उल्लेखित संघ संस्थाहरु नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरुसंग तत्काल निम्न कार्य माग गर्दछौँ ।
१) वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।
२) वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरियोस् ।
३. वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गरियोस् ।
४) वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधि एवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस् ।
५) वन डढेलोका कारण यस वर्ष ५ हजार ठाँउमा वन डढेलो लाग्यो । यसवाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भयो । वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।
६) काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएको छ । यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ । संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सवै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता गरियोस् ।
७) वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी गरियोस् ।
८) अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एंव Clean Air Network Nepal (CANN) को अभियानमा सबै व्यक्ति तथा संघ–संस्थालाई आव्हान गर्दछौँ ।