नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो विरोध गरेः कुलमान घिसिङ
नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो विरोध गरेः कुलमान घिसिङ
काठमाडौँ। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताएका हुन् ।
उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताए । उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बतारे ।
‘विद्युत प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेण्टहरु फेक हो । गलत हो भनेर जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन् । जिम्मेवार ठाउँहरुमा भन्ने गरिएको छ । नेपाल विद्युत प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो,’उनले भने,‘महालेखापरीक्षकले खटाएर तीन वडा अडिट संस्थाहरुले फाइनल गरेको हिसाव कसरी फेक हुनसक्छ । नेपाल विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दुःख लाग्छ । विद्युत प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । नेपालमा प्राधिकरणले लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ । त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु ।’
उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे ।
उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे ।
‘प्राधिकरणको जुन आर्थिक परिसूचकहरु छ । त्यो पारदर्शी छ । प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौं,’उनले भने,‘२५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौं ।’
उनले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताए ।
उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताए । उनले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताए ।
‘सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ । तर त्यो सरकारको अर्थमन्त्रालयले सोधभर्ना गरेको छैन,’उनले भने,‘यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको छ ।’
उनले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताए ।