Aug 12 2026 | २०८३, साउन २७ गते

देश इतिहासकै जटिल मोडमा, वैदेशिक हस्तक्षेप बढ्दै गएको छ : आजपा अध्यक्ष प्रभु साह

देश इतिहासकै जटिल मोडमा, वैदेशिक हस्तक्षेप बढ्दै गएको छ : आजपा अध्यक्ष प्रभु साह

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • देश इतिहासकै जटिल मोडमा, वैदेशिक हस्तक्षेप बढ्दै गएको छ : आजपा अध्यक्ष प्रभु साह

    बर्दिया। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको बताएका छन् । उनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दो क्रममा रहेको भन्दै यसप्रति देशभक्त र अग्रगामी शक्तिहरु चनाखो हुनुपर्ने र उनीहरुबीच एकताको आवश्यकता रहेको औंल्याए ।

    images


    मंगलबार बर्दियाको बाँसगढीमा आजपाले आयोजना गरेको बर्दिया क्षेत्र नं. १ को बृहत्त क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले भदौ २३ र २४ गते भएको ‘जेन–जी’ जनविद्रोहको मर्म र भावनाअनुसार देशमा कुनै पनि किसिमको परिवर्तनको आभाष नभएको बताए । उल्टै देशलाई संकटको भूमरीमा हाल्ने काम भएको उनको भनाइ छ ।

    सम्बोधनका क्रममा उनले ‘जेन–जी’ आन्दोलनको अपहरणकारीको संज्ञा दिँदै सुशीला कार्की, बालेन शाह र कुलमान घिसिङहरु तथा आन्दोलनमा दमन गर्ने केपी ओली र रमेश लेखकहरुको कारण मुलुक श्रृंखलावद्ध अनिश्चयको सुरूङमा फसेको टिप्पणी गरे ।


    अध्यक्ष साहले ‘जेन–जी’ आन्दोलनपछि देशमा वैदेशिक हस्तक्षेपसमेत बढ्दो रहेको दाबी गरे । उनले मुलुकलाई संकटबाट निकाल्न तोकिएकै मितिमा चुनाव गराउनुको विकल्प नभएको जिकिर गरे । तर, वर्तमान सरकारले चुनाव गराउने गरी गम्भीर पहलकदमी नलिएको उनको आरोप छ ।


    आन्दोलनका क्रममा लुटिएका हतियारको यकिन तथ्यांक अहिलेसम्म गृह प्रशासनले सार्वजनिक नगरेको र कैदीबन्दीहरूसमेत फिर्ता ल्याउन नसकेको भन्दै उनले सुरक्षाको उचित प्रबन्ध गर्न सरकारलाई आग्रह गरे ।


    उनले नयाँ र विकल्प दिन्छु भनेकाहरु पनि पद र शक्तिको लागि लुछाचुँडीमा रमाएको भन्दै आलोचना गरे । साहले भने, ‘नयाँ भनिएका नाईकेहरु पनि कोही अनाडी, कोही भ्रष्ट र कोही ठग भनेर निस्किए । उनीहरु सांसद, मन्त्री र प्रधानमन्त्रीको लागि मात्रै राजनीतिमा लागे, उनीहरूबाट देशले पार पाउँदैन ।


    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्री भन्दै बजेट लेख्न थाल्न निर्देशन दिइएको विषयप्रति लक्षित गर्दै उनले चुनाव अगाडि नै नक्कली कुरा र कोरा सपना नबाँड्न चेतावनी दिए ।

    साथै, अध्यक्ष साहले आन्दोलनको नाममा सत्तारोहण गरेका कुलमान घिसिङहरु दलको नेता भइसकेकोले अब पदमा बस्ने नैतिक अधिकार नभएको बताए । चरम राजनीतिमा होमिएका घिसिङलगायतलाई तत्काल बर्खास्त गर्न उनले प्रधानमन्त्रीसमक्ष माग गरे ।

    मुलुक यतिवेला सरकारविहीनको अवस्थामा रहेको र अहिलेका मन्त्रीहरु शान्ति सुरक्षा कायम गर्न असफल भएको उनको आरोप छ । संविधानमा भएको त्रुटिको कारण देशको व्यवस्था खराब भएको र जनताको अवस्थामा कुनै परिवर्तन नआएको साहको दाबी छ ।

    कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष एलिजा गौतम, संगठन विभाग प्रमुख त्रिभुवन साह, लुम्बिनी प्रदेश अध्यक्ष विजय यादवलगायत नेताहरूको विशेष सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट