म कुनै पार्टीमा गएको छैन’ — चुनावी चर्चामाथि मन्त्री खरेलको स्पष्टिकरण
म कुनै पार्टीमा गएको छैन’ — चुनावी चर्चामाथि मन्त्री खरेलको स्पष्टिकरण
काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने चुनावमा आफूले उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २९ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले चुनावमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताए ।
मिडियामा आएका आफ्ना समाचारका बारे स्पष्ट पार्दै मन्त्री खरेलले भने, 'म चुनावमा उठ्ने रे भन्ने कुराहरू पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्ने रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो । तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।'
हालै प्रधानमन्त्री सुशीला कार्कीले दलमा जाने भए सरकारबाट राजीनामा दिन मन्त्रीहरूलाई सचेत गराएकी थिइन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले रास्वपा र बालेन समूहबीच भएको एकीकरणलाई दिल खोलेर स्वागत गरेपछि उनी सोही पार्टीमा प्रवेश गर्ने चर्चा चलेको हो ।
