संसद्प्रति सरकार जवाफदेही छैन : श्रम संस्कृति पार्टी
संसद्प्रति सरकार जवाफदेही छैन : श्रम संस्कृति पार्टी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले वर्तमान सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै कडा आपत्ति जनाएका छन्।
आज जारी एक प्रेस विज्ञप्तिमार्फत राईले सरकारले संसदीय मर्यादाको उल्लंघन गर्दै जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए। विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा अनुपस्थित रहनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधिसम्मत संसद् सञ्चालन भइरहेको छैन भन्ने पुष्टि हुन्छ। यो प्रतिनिधिसभा सञ्चालन नियमावली १५(२) को सरासर उल्लंघन हो।'
सांसद राईले थपे कि धेरै प्रयासपछि सदनमा उपस्थित भएका दुई मन्त्रीले समेत अत्यन्त सतही जवाफ दिए र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न राख्न खोज्दा सभामुखले रोकेकोमा उनले गहिरो असन्तुष्टि व्यक्त गरे। '
सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा कानुन बनाउने थलो हो, त्यहाँ प्रश्न सोध्नै नदिनु अत्यन्त आपत्तिजनक छ,' विज्ञप्तिमा उल्लेख छ।
गत बैशाख २८ र २९ गते आफूले संसद्मा राखेका कुनै पनि प्रश्नको सरकारले जवाफ नदिएको दाबी गर्दै उनले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा दिए।
सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै राईले भने, 'प्रधानमन्त्रीलाई सदनमा ल्याउन असमर्थ सभामुखले प्रतिपक्षी दलका नेतालाई बारम्बार नियम स्मरण गराइरहनु निन्दनीय र हास्यास्पद छ। नियमभन्दा नियत ठुलो हुन्छ — र त्यो नियत सधैँ जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ।'
