बाँदर भगाउन संसदमा कराएर हुँदैन, अनुसन्धानमा ५/७ करोड खर्च गर्नुपर्छ : सांसद पुन
बाँदर भगाउन संसदमा कराएर हुँदैन, अनुसन्धानमा ५/७ करोड खर्च गर्नुपर्छ : सांसद पुन
काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदरको आतंक न्यून गर्न संसदमा कराउनुभन्दा वैज्ञानिक अनुसन्धान गर्नु आवश्यक रहेको बताएका छन्। यसका लागि ५ देखि ७ करोड रुपैयाँसम्मको बजेट व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
सांसदहरूले बाँदर आतंक बढेको भन्दै सरकारसँग हटाउन माग गरिरहेका छन्। एमाले सांसद राजेन्द्र राईले बाँदर हटाउन एक साताको अल्टिमेटम समेत दिइसकेका छन्।
यसै सन्दर्भमा सांसद पुनले संसदमा भने, 'बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर केही हुँदैन। बाँदरलाई कसरी हटाउने भन्ने उपाय मैले संसारभर खोजेको हो — बरु रकेट बनाउन सजिलो छ, प्रविधि छ, तर बाँदर धपाउने प्रविधि अझै फेला परेको छैन। यसका लागि पाँच-सात करोड बजेट अनुसन्धानमा खर्च गर्नुपर्छ।'
सांसद पुनले हालको सरकारले बाँदर समस्या समाधानका लागि एक टोली गठन गर्न लागेको जानकारी पाएको र सो टोलीमा आफूलाई पनि समावेश गर्न आग्रह गरेको बताए।
'बाँदर बुद्धिमानी जनावर हो, एउटा मात्र उपायले काम गर्दैन। अहिलेसम्म कुनै पनि वैज्ञानिकले यसको स्थायी समाधान निकाल्न सकेका छैनन्,' उनले थपे।
