Aug 12 2026 | २०८३, साउन २७ गते

नेपाल–भारत सम्बन्धमा नयाँ गति: परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच उच्चस्तरीय वार्ता, डिजिटल भुक्तानीदेखि कानुनी सहकार्यसम्म सहमति

नेपाल–भारत सम्बन्धमा नयाँ गति: परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच उच्चस्तरीय वार्ता, डिजिटल भुक्तानीदेखि कानुनी सहकार्यसम्म सहमति

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
  • नेपाल–भारत सम्बन्धमा नयाँ गति: परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच उच्चस्तरीय वार्ता, डिजिटल भुक्तानीदेखि कानुनी सहकार्यसम्म सहमति

    काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

    images

    भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा जेठ २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गरेका हुन्। सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकार गठन भएयता परराष्ट्रमन्त्रीस्तरमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

    न्यानो, मैत्रीपूर्ण तथा रचनात्मक वातावरणमा सम्पन्न वार्तामा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउँदै नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

    मुख्य उपलब्धि र सहमतिहरू

    डिजिटल भुक्तानी प्रणाली (UPI–NPI) सञ्चालनमा
    दुवै देशबीच सीमापार व्यक्तिगत विप्रेषण (रेमिट्यान्स) लाई सहज बनाउन भारतको Unified Payments Interface (UPI) र नेपालको National Payments Interface (NPI) बीच पियर–टु–पियर (P2P) आबद्धताको संयुक्त शुभारम्भ गरिएको छ। यसले नेपाल र भारतका नागरिकलाई डिजिटल माध्यमबाट रकम पठाउन तथा प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

    ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना हस्तान्तरण
    सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

    ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह-निर्माण गर्न भारतको ‘डिजिटल इन्डिया भाषिनी’ र नेपालको ‘काठमाडौँ विश्वविद्यालय’ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।

    पारस्परिक कानुनी सहायता सम्झौताको कार्यान्वयन
    अपराधिक मुद्दामा भारत–नेपाल पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन्। यसले सीमापार अपराध अनुसन्धान तथा न्यायिक सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

    समग्र सम्बन्धको समीक्षा

    वार्ताका क्रममा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा, र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध पक्षहरूको समीक्षा गरिएको थियो। साथै, नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सँग पनि भेटवार्ता गरेका छन्।

    भारतीय पक्षले आफ्नो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस भ्रमणले दुई घनिष्ठ छिमेकी राष्ट्रबीचको उच्चस्तरीय संवादलाई थप मजबुत बनाएको जनाएको छ। दुवै देशका जनताको हित र अपेक्षा सम्बोधन गर्दै द्विपक्षीय साझेदारीलाई नयाँ ऊर्जा प्रदान गर्न भ्रमण फलदायी रहेको विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट