साम्पाङको माग: प्रधानमन्त्री बालेन आफैँ संसद आएर अभिव्यक्ति सच्याउनुपर्छ
साम्पाङको माग: प्रधानमन्त्री बालेन आफैँ संसद आएर अभिव्यक्ति सच्याउनुपर्छ
काठमाडौं। श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले स्वयम् संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गरेका छन्।
लोकतन्त्रको मूल मर्म नै प्रधानमन्त्री पदलाई जवाफदेही बनाउनु रहेको बताउँदै साम्पाङले प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा प्रत्यक्ष आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले एक व्यक्तिले गरेको गल्ती अर्कोले सच्याउने परम्परा उचित नहुने स्पष्ट पारे।
"जुन खालको अभिव्यक्ति प्रधानमन्त्रीज्यूले दिनुभएको छ, त्यसको जवाफ परराष्ट्रमन्त्रीमार्फत आउने भनिएको सुनिन्छ। यसमा हाम्रो पार्टीको सहमति छैन। यो निर्णयको हामी विरोध गर्छौं। प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने यही कुरा हो। उहाँले गर्नुभएको गल्ती सच्याउन अर्को व्यक्ति खटाउनु न न्यायसंगत छ, न संविधानसम्मत," उनले भने।
संसद विधिसम्मत रूपमा सञ्चालन हुनुपर्ने भन्दै उनले यो विषयमा सदनको ध्यानाकर्षण गराए।
"हाम्रो माग स्पष्ट छ — गल्ती गर्नुभएको व्यक्ति अर्थात् प्रधानमन्त्री आफैँ यहाँ आउनुपर्छ। उहाँ प्रत्यक्ष आउन नसक्ने अवस्थामा लिखित वक्तव्यमार्फत परराष्ट्रमन्त्रीले वाचन गर्नुभए पनि हामी स्वीकार गर्न सक्छौं," उनले थपे।
साम्पाङले अहिलेसम्मका राजनीतिक आन्दोलनको मूल उद्देश्य नै प्रधानमन्त्री पदलाई संसदप्रति पूर्ण उत्तरदायी बनाउनु रहेको भन्दै यो मुद्दा संसदीय जवाफदेहिताको व्यापक सिद्धान्तसँग जोडिएको बताए।
