अनियमितता प्रमाणित भए सार्वजनिक जीवन त्यागदिन्छु' — अर्थमन्त्री वाग्ले
अनियमितता प्रमाणित भए सार्वजनिक जीवन त्यागदिन्छु' — अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले दशकौं मेहनत गरेर बनाएको आफ्नो छवि धुमिल्याउन खोजिएकोमा गहिरो खेद व्यक्त गरेका छन्। आज सार्वजनिक लेखा समितिमा बोल्दै उनले प्लास्टिक सुटकेसको भन्सार दरमा आएको परिवर्तन मानवीय त्रुटिको परिणाम मात्र भएको र त्यसलाई नै 'पहाड बनाएर' प्रस्तुत गरिएको बताए।
उनले भने — "दशकौंसम्म मेहनत गरेर बनाएको छविलाई धमिल्याउने जुन दुष्प्रयास भएको छ, त्यसमा गम्भीर खेद प्रकट गर्छु।" साथै, रुपैयाँ मात्र पनि अनियमितता प्रमाणित भएमा सार्वजनिक जीवन छाड्ने स्पष्ट घोषणा पनि उनले गरे।
मन्त्री वाग्लेका अनुसार जेठ १७ गते स्वास्थ्यकर्मीहरूको सुझावबमोजिम भ्याक्सिन र रगत बोक्ने क्यारियरलाई सुटकेसको वर्गबाट हटाई छुट्टै एचएस कोडअन्तर्गत १५ प्रतिशत भन्सार दर तोकिएको थियो। तर सो प्रक्रियामा भुलवश प्लास्टिक सुटकेसको भन्सार दर पनि ३० प्रतिशतबाट घटेर १५ प्रतिशत हुन पुगेको थियो, जसलाई कर्मचारीहरूले आफैं पत्ता लगाई सच्याएर पुनः ३० प्रतिशत कायम गरेका हुन्।
यस्तै, २० लाख सीआइएफ मूल्यसम्मका विद्युतीय गाडीमा सडक निर्माण दस्तुर ५ प्रतिशतको सट्टा साढे दुई प्रतिशत मात्र लाग्ने फुटनोट बिहान ४ बजे टाइप गर्दा छुट्न गएकाले त्यसलाई पनि तत्काल सच्याइएको उनले जानकारी दिए।
'पाना गायब' भएको आरोपलाई पूर्णतः खण्डन गर्दै मन्त्री वाग्लेले भने — "संसद सचिवालयका महासचिवलाई जेठ १७ गते नै औपचारिक पत्र लेखेर सच्याइएका विषयको जानकारी गराइसकेपछि मात्र पत्रिकाहरूले भ्रामक हल्ला फैलाए। जेठ १७ पछि सांसदहरूको हातमा पुगेको पुस्तिकामा एउटा थोप्लो पनि परिवर्तन भएको छैन — प्रमाणित भए कटघरामा उभिन तयार छु।"
बजेट वक्तव्यमा उल्लेख भएको महानगरपालिका र उपमहानगरपालिकामा सिनेमा हलमा लगानी गरेमा १० वर्षसम्म आयकर छुट दिने व्यवस्था विधेयकमा लेख्न छुट्न गएकाले त्यो पनि सच्याएर राखिएको उनले स्पष्ट पारे।
