सरकारका प्रवक्ता पोखरेल : सुस्तामा एसएसबी प्रवेशबारे कूटनीतिक कदम चालिने
सरकारका प्रवक्ता पोखरेल : सुस्तामा एसएसबी प्रवेशबारे कूटनीतिक कदम चालिने
काठमाडौँ । सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी प्रवेश गरेको बारे आवश्यक कूटनीतिक कदम चालिने जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने बताए ।
उनका अनुसार सुस्तामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूले लामो समयदेखि आफ्नो भूमिको संरक्षण गर्दै आएका छन्, जसको उनले प्रशंसा पनि गरे । यस विषयमा नेपाल–भारत सीमा विवाद समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक प्रयास भइरहेको उनले जानकारी दिए ।
शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा एसएसबी प्रवेश गरेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए । नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्ने क्रममा १७ जेठमा पनि एसएसबी नेपाली भूमिमा प्रवेश गरेको र सो क्षेत्रलाई दुवै देशका स्थानीयले निगरानीमा राख्दै आएको जनाइएको छ ।
केही समय स्थानीयसँग सामान्य भनाभन भएपछि एसएसबी टोली पुनः भारतीय भूमितर्फ फर्किएको बताइएको छ ।
