Aug 12 2026 | २०८३, साउन २७ गते

'इलामको चिया उद्योग सङ्कटमा, सरकारले बेलैमा ध्यान दिनुपर्छ' — सांसद राई

'इलामको चिया उद्योग सङ्कटमा, सरकारले बेलैमा ध्यान दिनुपर्छ' — सांसद राई

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
  • 'इलामको चिया उद्योग सङ्कटमा, सरकारले बेलैमा ध्यान दिनुपर्छ' — सांसद राई

    काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

    images

    निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावका कारण चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया भए पनि सरकारले यस क्षेत्रको समस्या समाधानमा पर्याप्त तदारुकता नदेखाएको आरोप लगाए। उनले चिया किसान र व्यवसायीहरूले भोग्दै आएका समस्याबारे पटक–पटक सदन र सरकारको उच्च तहमा आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गरे।

    नेपाली चियाको प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गाल सरकारले गुणस्तर परीक्षणका नाममा नेपाली चियालाई अनावश्यक अवरोध गरिरहेको सांसद राईले बताए। उनका अनुसार पानी ट्याङ्की नाकामा नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिने गरेका छन्। उनले भने, "परीक्षणका नाममा १५ दिनसम्म कन्टेनर रोकिँदा व्यवसायीहरूले ठूलो क्षति बेहोर्नुपरेको छ।" नेपालको चिया तुलनात्मक रूपमा गुणस्तरीय भए पनि भारतीय पक्षबाट हुने नकारात्मक प्रतिवेदन र अवरोध सुनियोजित देखिने उनको भनाइ छ। यो समस्या प्राविधिक मात्र नभई कूटनीतिक प्रकृतिको भएको उल्लेख गर्दै उनले सरकार–देखि–सरकार (जीटुजी) तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। परराष्ट्रमन्त्री र उच्च अधिकारीहरूको हालैका वैदेशिक भ्रमणहरूमा यो विषयले प्राथमिकता नपाउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी थियो।

    नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राईले अघि सारेका छन्। राज्यले चियालाई प्रमुख नगदे बाली र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्न नसकेको उनको तर्क छ। चिया बगानको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकारले नयाँ प्रोत्साहन कार्यक्रम र सहुलियत ल्याउनुपर्ने उनले बताए।

    व्यवसायीहरू आन्दोलित भई माइतीघर मण्डलामा धर्ना बस्ने तयारीमा रहेको उल्लेख गर्दै सांसद राईले सरकारलाई बेलैमा सचेत बन्न आग्रह गरे। प्रतिपक्षमा रहे पनि आफू चिया किसानकै छोरा भएको नाताले यस क्षेत्रको समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहने र सरकारलाई जवाफदेही बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।


     
     
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट